कथा  ः चोइटिएको मन

कथा ः चोइटिएको मन

106 Shares

बाल्यकाल कस्तो हुन्छ ? रहर के हो ? मैले कहिल्यै जानिनँ । यी सबै कुरा मेरो वास्तविकताको आयतनभन्दा निकै टाढाका विषय थिए । स्कुलबाट फर्किनेबित्तिकै भाइ बल र गुच्चा बोकेर चोकतिर डौडन्थ्यो । म डोको बोकेर खेततिर लाग्थेँ । सायद छोरीले पूर्वजन्ममा डोको पुरस्कार पाएकी छ । नाम्लो र हँसिया दाइजो ल्याएकी छ ।
समाजमा भाइले चर्को स्वरमा बोल्दा नेता वा पछि गएर कुनै ठुलो पोस्टको मान्छे बन्ने अनुमान लगाउथे । मैले बोलेँ भने पोथी बासेको उपमा पाउँथेँ ।
अचेल म सहरको घरमा बन्दी जीवन बिताइरहेकी छु । यो जिन्दगीले मेरो कल्पनामा सदैव घात गरिरहेको छ । मेरो अन्तर्मनले भन्छ, तँ आमाभन्दा धेरैपर जा तर त्यो कल्पनामा मात्र सीमित छ । मेरो यथार्थलाई कल्पनाले धेरै पटक लतारिसकेको त्यो वास्तविकता म अहिले भोगिरहेकी छु ।
अचेलको दैनिकी निकै पट्यारलाग्दो छ मेरो । तर मेरा आफन्त र आमाबुबाले मलाई निकै सुखी देख्छन् । म चाहेर पनि मेरा सुखभित्रका दुःख कसैलाई सुनाउँन सक्दिनँ । परिवारिक जमघट र बहसमा हल्का मुस्कुरादिन्छु । मुखुन्डोजस्तो । मेरो मनले हाँस्न छोडेको धेरै वर्ष भयो । उपदेश सुन्छु, श्रीमान्को ख्याल गर्नू । बच्चालाई समयमा खाना ख्वाउनू, बुढी सासूलाई औषधी खान सम्झाइरहनू । मलाई सुनाएका यिनै महामन्त्र हुन् । अहिले मलाई मेरै सिरानीमाथि धुलिएको एम ए पासको सटिर्फिकेटले उपहास कि स्याबासी दिएको हो, जान्दिनँ ?
छोरीले स्कुलबाट आउनेबित्तिकै सुनाई, मामु आज हाम्रो स्कुलमा सरले भविष्यमा तिमी के बन्छौ ? भनेर सोध्नुभयो । मैले त नर्स बन्छु भनिदिएँ । सरले नर्स होइन आमा बन्नू भने । सोचेँ, यसले पनि सानैदेखि पुरुषका ठुल्याइँ बोकेर घर आउने भई । तर मुखले केही बोल्न सकिनँ ।
……..
मेरो आफ्नै विगत चलचित्रजस्तै बनेर आँखामा नाच्यो,
कक्षा आठको अन्तिम परीक्षा सकियो । मनमा उल्लास सुरु भयो । त्यस बेला परीक्षा सकिनु भनेको लगभग दसैँ आउनुजस्तै रमाइलो लाग्थ्यो । केही समयको बिदापछि फेरि विद्यालय सञ्चालन भयो । हामी विद्यार्थीका पुरानै दैनिकी सुरु भए ।
चारैतिर रमणीय वातावरण । हेलम्बुको स्वच्छ हिमालभन्दा पनि खुल्ला मन लिएर विद्यालय पुगेँ । कक्षा नौको पहिलो दिन । पहिलो विषय नेपाली रहेछ । दाहाल सरले पढाउनुहुन्थ्यो । सामान्य छलफलपछि उहाँले भन्नुभयो, तिमीहरू भविष्यमा हे बन्छौ ? पालैपालो भन ।
रोशनले जुरुक्क उठेर भन्यो, डाक्डर । किरण बोल्यो, बैंक म्यानेजर । प्रदीप पाइलट । केटीभन्दा केटाहरुले नै पहिला आफ्ना लक्ष्य सुनाए । सरिताले नियाउरो अनुहार लगाई । केही बोल्न सकिन । मैले अन्तिममा भनेँ, सर म नर्स बन्छु । त्यस दिन समान्य कुराकानीमै क्लास सकियो ।
सम्झेँ, अहिले भर्खरै छोरीले पनि नर्सको ठाउँमा आमा बन्ने वरदान लिएर घर आएकी छ । आधा ओठ हाँस्यो, अँ छोरी, तँ पनि मजस्तै नर्स बन्ने होलिस् ।
हाप टाइममा किरणलाई र मलाई हेडसरले बोलाउनुभएको खबर आयो । एकैछिनमा हामी सरको अगाडि देखा प¥यौँ । दाहाल सर पनि सँगै हुनुहुँदो रहेछ ।
सरले भन्नुभयो, भविष्यमा तिमी नर्स बन्नू, मेरो शुभकामना छ । तर अहिले यो विद्यालयमा क्रियाशील भएर काम गर्ने दुई जना विद्यार्थीको आवश्यकता छ । हामीले पढाइको अतिरिक्त विद्यालयमा केही सिर्जनशील काम गर्ने योजना बनाएका छौँ । तिमीहरुमा केही सम्भावना देखियो ।
म किरणतिर फर्किएँ । ऊ मुस्कुरायो । मैले केही भन्न सकिनँ । सरले मेरो मौन स्वीकृति नै निर्णय मान्नुभएछ क्यारे ।
त्यसपछि हाम्रा नयाँ कार्यक्रम सुरु भए । विद्यालयमा भित्ते पत्रिका सञ्चालन गर्नु । सामाजिक जागरणका लागि सडक नाटक, सांस्कृतिक कार्यक्रमको आयोजना गर्नु । चेलीबेटी बेचबिखन विरुद्ध घरदैलो अभियान गर्नु । यही कामको प्रभावले म सबैको नजरमा प्रिय बन्न पुगेँ ।
एस.एल.सी सकियो । रिजल्ट पनि आयो । म फस्र्ट डिभिजनम पास भएछु । मेरो नर्स बन्ने सपना पूरा हुने भयो । गोडा भुइँमा थिएनन् । घरमा यो खबर सुनाएँ । सबै जना खुसी नै देखिए ।
त्यही साँझ मैले बाबासँग आग्रह गरेँ, ‘बाबा, मेरो एसएलसी सकियो । म काठमाडौँ गएर नर्स पढ्छु ।’
उहाँले भन्नुभयो, ‘किन जानु र काठमाडौ ? तिमी यही बस । तिमीलाई यहाँ सबैले मन पराउँछन् । तिमीले आजसम्म गरेका काममा म औधी खुसी पनि छु । अब मलाई तिम्रो आवाज रडियोबाट सुन्ने मन छ ।’
मेरा मनका गोडा ठनक्कै भाँचिए । दुइटा डुङ्गा नदी किनारमा छन् । एउटा मेरा भित्री चाहनाको र अर्को बाबाको इच्छाले बनेको । म कुन डुंगामा चढेर पारि जाऊँ ?
पुरुष आदेशका अगाडि पोथीको कुरकुरले हा¥यो । गाउँकै क्याम्पसमा मानविकी सङ्कायमा भर्ना भएर रेडियोमा काम गर्न थालेँ । रेडियोमा बोल्दा बाबा त खुसी हुनुभो होला तर मैले कहिल्यै त्यो रेडियोबाट मेरा वेदना सुनाउन पाइनँ । मेरो मन रेडियोझैँ बज्दैन, बाबाले कताबाट सुन्नु ? समाजमा त बाबाको रेडियो बज्थ्यो । उहाँलाई सबैले सुन्थे । आफ्नै मान प्रतिष्ठा पनि थियो । म उहाँको खुसी हेर्थेँ र आफ्नो नर्स बन्ने सपनालाई गीतमा रुपान्तरण गर्न खोज्थेँ, तर त्यसमा लय कहिल्यै मिलेन ।
समय हो । बाबाको पनि थियो सकियो । दाहाल सरको पनि सकिएछ रिटार्यड हुनुभो । मेरो समय भने रिटार्यड भएन । अझै लालसा बढ्यो, नर्स पढुँ । बाबाकै समयको पर्खाल बनेर दाजु उभियो । मेरो सपनाको कुण्डमा बाढी पसेर लालसका डिल भत्कायो । मानौँ नारीका इच्छा हिलो माटोका डिल हुन् । जसलाई पुरुषको खहरले तुरुन्तै भत्काइदिन्छ ।
थच्चिने नियति बोकेकाहरूले दगुर्न खोजेको फल । त्यो मेरो काँचो फल धेरैमाथि झुण्डिरहेको देख्थेँ । बुर्कुन्चेले चन्द्रमा समाउन अफ्रिएझैँ, म मेरै मनको आँगनीमा उफ्रिरहेँ, पछारिइरहेँ । त्यही गाउँकै कलेजमा भर्ना भएर पनि सुदूर फल टिप्ने कोसिस भने जारी नै रह्यो ।
अर्को लालसाको फल मनभित्र फल्यो किरण । सपनामा पनि फल्यो । बाटोमा पनि फल्यो । दिमाग खाली भयो कि त्यही फल मनमा फलिरहन थाल्यो । थाहा छैन किरणभित्र पनि मेरा मजुरा यसैगरी पलाएका थिए कि थिएनन् ?
त्यो एमएम पास गरेको सर्टिफिकेट यही सिरानको हो । छ महिना भयो होला ? त्यो कागज झिकेर पल्टाएको पनि छैन । जहाँ छोरीका सर्टिफिकेटको तयार गर्ने मेलो छ त्यहाँ मेरा सर्टिफिकेटको झमेलाको के प्रयोजन ? मेरा सर्टिफिकेटमा जमेको धुलो मैले पुछिनँ एकाएक आँखाबाट आँसु बगे त्यो मात्र पुछेँ । सर्टिफिकेटको धुलो पुछ्नु नपछ्नुसँग छोरीलाई के सरोकार छोरीले मेरा आँसु देख्न सक्थी, त्यसैले पुछ्नुपथ्र्योँ ।
किरणतर्फ लक्षित गरेर बजेको मेरो मनको सारंगीको तार त्यो बेला चुँडियो जब बाबाले चोइटे साहुको जेठो छोरो हरिशको तार बजाउन थाले । किरणको सारंगीमा मेरो तार जोडिने ठाउँ नै भएन । चोइटे साहुका अगाडि किरणका बाबा गरीब थिए । सम्बन्ध जातको यस्तो कुलो हो जहाँ पानी चलाएर चल्न सक्थ्यो, नचलाए सुख्खा हुन्थ्यो । किरण जातको त्यही सुख्खा कुलो थियो ।
नारीका मन शायद नाङ्गा गोडा हुन् । पुरुषका प्रतिबन्धमा बारबार ठेस लागिरहन्छ । यहाँ पनि लाग्यो । नसुनिने आवाजले जति वेदना गाएपनि अर्थ नदिने समाजमा मेरा इच्छा घुरानका सियो झैँ हराए । म किरणको तार हरिशमा जोड्ने झिनो आशामा एकै छिन चन्चलाएँ । कस्तो होला हरिश किरण जस्तै ? के उसले मेरो अनुहार हेरेर मन बुझ्ला ? खोई ऊ पनि चोइटे पुरुषको छोरो हो । मेरो मनले पक्का गरेको थिएन । किनभने आरुवखडाको रुखमा लालीगुराँसको कलमी हुन सक्दैन ! सक्दैन ! सक्दैन ! नारीका इच्छा हरिशको हाँगोमा पनि मुजुराउन सक्दैन । त्यही असम्भवभित्रको सम्भव कल्पनामा सजाएर हरिशको सिन्दूर मैले टाउकोमा थापेँ । मेरा इच्छाका ढोल बजिरहेका कानमा पञ्चे बाजा पनि बजेकी सुनिनँ ।
चोइटेहरूका शहरमा पनि घर हुुन्छन् । नर्स बन्ने इच्छा गोरुको थुतुनोमा कसेको पेरुङ्गो जस्तै लगाएर म सहरको हरियाली हेर्न पसेँ । हरिशसँग बसेँ । फसेँ । त्यो धापमा म फस्दै गएँ । अलि धेरै अहङ्कार चोइटे साहुको, थोरै ठुल्याइँ मेरा बाउको र थोरै ढोङ मेरा दाइको मिसिएझैँ लाग्थ्यो हरिशका आदेशमा पनि । घरमा बस्नू । किरम पाउडर मुखमा धस्नू । म साँझ आउँदा गुलावझैँ हाँस्नू । अरू लोग्ने मान्छे देख्दा आँखा ढाक्नु, चुलो जलाउनु, भान्छा चलाउनु, घरलाई पनि आफूजस्तै घर चिटिक्क पार्नू । यो चपेटामा मेरो नर्सिङ्ग पढ्ने चाहनालाई कहाँ उतार्नु ?
नजान्दानजान्दै छोरी पेटमा बसिछे । मेरा तमाम इच्छालाई खहरेले बाली लतारेझैँ त्यही छोरीले मलाई लतारी । सायद, मेरै प्रतिमूर्ति भएर आगामी किरणको खोजीमा ऊ पनि लाग्नेछे । मेरा मनमा यस्तै कल्पना मात्र आउँथे । मेरा सर्टिफिकेटको पोको फोइएन । वात्सल्यको धोको त्यही छोरीमाथि पोखियो । यादै भएन । ऊ कति चाँडै सात कक्षा पढी । सायद मेरा इच्छा चोइटिए छोरीको हृदयमा टुसाएको होला ? उसले नर्स बन्ने इच्छा गरी । म जस्तै आमा बन्ने वरदान पाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *