सुदूरपश्चिममा यसरी मनाइन्छ नयाँ बर्ष, ‘बिसु’मा देवर-भाउजूबिच सिस्नुपानी हानाहान

सुदूरपश्चिममा यसरी मनाइन्छ नयाँ बर्ष, ‘बिसु’मा देवर-भाउजूबिच सिस्नुपानी हानाहान

देशभर नयाँ बर्षकाे राैनक देखिने बैसाख १ गते अर्थात् बैशाख संक्रान्तिमा सुदूरपश्चिमी समुदायले विशेष महत्वका साथ ‘बिसु’ पर्व मनाउने गर्छन् । सुदूरपश्चिमेली समुदायले मनाउने बिसु पर्वमा अनाैठाे राैनकता देखिन्छ । यसपटक पनि २०७६ साललाई स्वागत गर्दै आज एकाबिहानैदेखि नुहाइधुवाइ गरी मीष्ठान्न परिकारका साथ बिसु पर्व मनाइँदै छ । बिसु पर्वको रमझम अछाम, डाेटी, बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा बेग्लै राैनक देखिएकाे छ । नयां वर्षको अवसर पारेर विभिन्न विद्यालय तथा युवा र बालक्लबहरूले सांस्कृतिक कार्यक्रमहरूको समेत आयोजना गर्ने गरेका छन् । बिशु पर्व तथा नयाँ वर्षकै लागि कमेराे र राताे माटाेले छ्यापेर/लिपेर घर चिटिक्क सजाइन्छ तथा सरसफाई गरिन्छ । याे काम प्राय: चैत महिनामै महिला-पुरुष मिलेर गर्छन् । यस दिन विभिन्न देवीदेउताकार् थानमा जाँत (मेला) समेत लाग्ने गर्छ ।

केहाे बिसु ?
बिसु पर्व नयाँ वर्षकाे स्वागत र खुसियालीमा मनाइने एक विशेष महत्वकाे परम्परागत चाड हाे । याे विषेशगरी सुदूरपश्चिम प्रदेशका सातवटा पहाडी जिल्लामा मनाइन्छ भने कैलाली-कञ्चनपुरमा समेत मनाइन्छ । हरेक साल बैशाख १ गते मनाइने याे पर्वकाे एक राेचक प्रचलन के छ भने देवर-भाउजू, नन्द-भाउजू र साली-भिनाजुहरूले एकआपसमा सिस्नुपानीले हानेर रमाइलाे गर्ने गर्छन् । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ । बिसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने विश्वास गरिन्छ । विशेष गरी देवर–भाउजुबीच सिस्नो लगाउन जुहारी नै चल्छ । तर, पछिल्लो समय भने बिसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै लाेप हुँदै गएकाे छ । बिसु पर्व मनाउनकै लागि यहाँका पहाडी ग्रामीण भेगका लाेग्नेमानिसहरु सीमावर्ती भारत लगायत परदेशबाट फर्किएका छन् । गहुँबाली भित्र्याउने र मकै छर्ने सिजन समेत सुरु भएकाले हिउँदमा मजदुरीलगायत काम गर्न सीमावर्ती भारतका विभिन्न शहर गएका लाेग्नेमासनिस घर-गाउँ फर्किएका छन् । यस अवसरमा यहाँका महिला दिदीबहिनी, चेलीहरु माइतीमा पुगेर भेटघाट तथा आशीर्वाद थाप्ने र मिष्ठान्न भोजन खाने/खुवाउने चलन छ ।

बिसु पर्वमा मुख्यातया मासकाे दालबाटबाट बनाइने विशेष स्थानीय परिकार ‘बटुक’ र चुकाउनी खाने चलन । यसरी बटुक खाएपछि पेटमा समस्या नहाेस् भनेर झिर तताएर डाम्ने प्रचलनसमेत यदाकदा समाजमा देख्न सकिन्छ । यसका साथै खिर, सेल, पुरीलगायत मिष्ठान्न पकाएर खाने चलन छ । तर यस दिन ननुहाईकन खाना नखाने मान्यता छ, नुहाउन पनि जाैँ-तील, तितेपातीलगायत सामग्री प्रयाेग गरिन्छ, जुन पवित्रताकाे प्रतीक मानिन्छ । बिसुको अवसरमा देउडा खेल्ने, विभिन्न प्रतियोगिता सञ्चालन गरी रमाइलो गर्ने गरिन्छ । यस दिन गाइने देउडा भाका ‘बुढी माइतै बाली माइतै विसु खी बखत, कि रातो गुराँउसी फूल कि रातो रगत‍‍…’ जस्ता राेचक हुन्छन् । यस दिन महिलाहरूले पुतला नाच खेल्ने तथा पुरुषहरूले बिसु बाघ बनाएर दौडाउने समेत गर्छन् । बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाएर खाने चलन समेत छ । हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *