२२ असोज काठमाडौं :बिहिबार नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या देशभर २६ हजार ६८४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएको खण्डमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरिएको जानकारी दिइसकेको छ।
असोज ७ गतेको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएका थिए। थपिएकासहित नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी हुन थालेपछि सामान्य सेवा पनि प्रभावित हुने भएकाले संक्रमण रोक्न पुनः लकडाउन गर्नुपर्ने सुझाव दिइएको बताए। उनले स्वास्थ्य मन्त्रालयले अवस्था विश्लेषण गरी सरकारलाई सुझाव दिइसकेको तर लकडाउन वा निषेधाज्ञा हुने/नहुनेबारे मन्त्रालयले निर्णय गर्न नसक्ने बताए। उनले यसबारे मन्त्रिपरिषद्ले नै निर्णय गर्न सक्ने बताए।