उपत्यकामै ३०६ जनामा देखियाे काेराेना

उपत्यकामै ३०६ जनामा देखियाे काेराेना

237 Shares

उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ। मंगलबार ५३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको हो।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एकजनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

उपत्यकामा एकैदिन पुष्टि भएको यो अहिलेसम्मकै धेरै संख्या हो। ३ सय ६ जना संक्रमितमध्ये २७ जना नेपाल प्रहरी मुख्यालयका सुरक्षाकर्मी छन्। काठमाडौं जिल्लामा मात्र संक्रमित संख्या २ सय २८ छ। त्यस्तै ललिपुरमा ५८ र भक्तपुरमा २० जना छन्।

संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ। केहीलाई भने आइसोलेसन सेन्टरमा राखिएको छ। सरकारले उपत्यकाको तीन वटा ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरेको छ। जसमा खरिपाटी, कीर्तिपुर र गणेसमानसिंह अस्पताल रहेका छन्।

मन्त्रालयका विज्ञ सल्लाकारहरूले पनि परीक्षण बढाउन सुझाव दिएका छन्। उपत्यकामा दैनिक संक्रमण बढ्न थालेपछि अहिले मन्त्रालयले ‘मास टेस्टिङ’ को नीति अघि सारेको छ। जसमा उपत्यकामा मात्र दुई सातामा ४५ हजार जनाको परीक्षण गर्ने भनिएको छ।

यस्तै अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरूमा पनि मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ। प्रवक्ता गौतमले मंगलबार मात्रै तीन वटा नाकाबाट ४८ सय जनाको स्वाब संकलन गरिएको जानकारी दिए।

ती नाकाहरू थानकोट, फर्पिङ र साँगा रहेका छन्। यी नाकाबाट उपत्यका प्रवेश गर्ने बाहिरी जिल्लाका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो।

यस्तै स्वेच्छाले शुल्क तिरेर परीक्षण गर्ने व्यक्तिहरूमा पनि संक्रमण पुष्टि भएको छ। मंगलबार मात्र स्टार अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *