पर्खाइ - सुभद्रा ढकाल

पर्खाइ – सुभद्रा ढकाल

49 Shares

कविता – पर्खाइ

घाम न्यानो बोकेर आयो
जून दिएर गयो
जूनमै पारिजात फुल्यो
बास्ना फिँजायो र भुइँमा फूल छरेर गयो
वसन्तमा कोइली आयो
विरही गीत गाउन लगाएर गयो
मैले साउने झरी र भदौरे भेललाई त्यही गीत सुनाएँ
हेमन्तको कहरभरि त्यही गीत गाएँ
हिमाल वरसम्म आयो र मेरो गीत सुन्यो
मेरो विरहमा त्यो पनि रोयो सायद
अनुभव पारखीले गरे होलान्
सिरेटो त्यही वेदनाको सिरेटो हो ।

घुमेर नथाक्ने त समयको घट्ट मात्रै हो
र यो घुम्छ र यो घुमिरहन्छ
फेरि वसन्त वर्षा र हेमन्त बोलाउँछ
तर कहिल्यै साथमा ल्याएन मेरो मान्छेलाई
कहिल्यै सम्झाएन उसले गरेका वाचालाई
सम्झाएन एक थुँगो गुराँस लिएर जा भनेन
पापी समय फेरि घुमे के
आए के गए के
प्रत्येक साँझ जोर नजर
दोबाटोमा अल्झन्छन्
चराहरु गुडँ फर्कन्छन्
गालाको बाटो हुँदै छातीसम्म पुग्छ
हिउँका अक्षताजस्तो आँसु
अब मेरो अर्जी छैन घाम र जूनसँग
वसन्त र वर्षासँग पनि
फुलोस् या नफुलोस् पारिजात
रात कालो सिरक ओढेर सुतेको बेला
मैले चिट्ठी लेखेथेँ आफ्नै आँसुले एकपटक
आँसुका लिपि नुनिला हुन्छन् प्रिय
दिल त सधैँ खुला छ
भरेको रात मेरो दैलो पनि खुला रहन्छ
प्रिय आऊ है
म आँसुले तकियामा चिट्ठी लेखिरहनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *