कुलतमा फसेको बालबालिकालाई यस्तो बानी लगाउनुहोस्

कुलतमा फसेको बालबालिकालाई यस्तो बानी लगाउनुहोस्

77 Shares

साँझको समय । सिमेन्ट मुछ्ने कराईमाथि आगो बलिरहेको छ । बलेको आगो छेउमा घेरा लागेर बस्नेहरुको संख्या १० जना जति छ । मुढा, पिर्का, पानी नभएका रंगका साना बाल्टी वा अन्य त्यस्तै बस्न मिल्ने चीजको व्यवस्था गर्दै आगो ताप्दैछन् एक हुल मान्छे । बृद्धदेखि केटाकेटीसम्म त्यही भिडमा मिसिएका छन् । काठमाडौंमा पटक–पटक पानी परेकाले हो वा राम्ररी सुक्न नभ्याएर हो दाउरा राम्ररी बल्न मानेको छैन । बेला बेला धुवाँको मुस्लो मान्छे भएतिरै जान्छ । ‘ल है यसले आज बाटोमा …..।’ धुवाँको मुस्लो जोतिर जान्छ उसैलाई जिस्क्याउँ छन् । अरु गल्ल हाँस्छन् ।

‘कस्तो नबलेको हो आगो पनि ?’ केही मान्छे उभिन्छन् । धुवाँबाट जोगिएकाहरुले आगो नजिकै मुख लगेर फुक्छन् हुर्र आगो बल्छ । जम्मा भएका मान्छेहरु फेरि आगोको हुर्कोमाथि हात सेकाउँछन् । त्यही छन् तीन जना बालबालिका ।

उनीहरु आगोकै छेउमा बसेका छन् । तर, आगो बलोस् धुवाँ निस्कोस् वा निभोस् मतलब छैन । हातमा मोबाइल लिएका उनीहरु आफ्नै धुनमा मस्त छन् । उनीहरु तीनै जना निजी बोर्डिङ स्कुलमा पढ्छन् । अहिले स्कुल छुट्टी छ । होमवर्क पनि छैन । स्कुल छुट्टी भएवापत बा वा आमाको मोबाइल हातमा लिन पाएका छन् ।

बा, आमालाई पनि खास चिन्ता छैन । किनकी मोबाइल दिएपछि जाडो भो, भोक लाग्यो वा केही चाहियो भनेर पिर्दैनन् । आफ्नै सेड्युल अनुसार काम गर्न पाइन्छ । बेलुकाको साँढे ७ बजेको थियो ।

‘खाना बनाउनु भयो ?’

आगो ताप्दै गरेकी गृहणीले प्रश्न गरिन् ।

‘भोक लाग्यो भन्ने मान्छेलाई मोबाइल भएसी पुगिहाल्छ ! अहिल्यै किन पकाउन प-यो भात ।’

छोराको हातमा मोबाइल थमाएकी आमा छोराले भोक लाग्यो नभनेकोमा मख्ख थिइन्, शायद मज्जैले आगो तापिन् र ज्यान तताइन् ।

केटाकेटीलाई मोबाइल थमाएर एकछिन् भुल्याउन खोज्नु धेरैजसो बाबु आमाको शैली बनेको छ अचेल । केटाकेटीलाई पनि मोबाइल चलाउन पाएपछि भोक लाग्दैन, जाडो हुन्न । मोबाइल दिएर केटाकेटीलाई भुल्याउँदा वा फकाउँदा पछि ठूलै संकट आउँछ भन्नेमा धेरै बाबु आमा सचेत छैनन् ।

नेपालमा हातहातमै मोबाइल आएको धेरै भएको छैन । त्यसकारण मोबाइल धेरै चलाएकै कारण जटिल रोग लागेको सुनिएको छैन । तर, एकदिन त्यस्तो पनि दिन आउँन सक्छ ।

मानव स्वास्थ्यमा केन्द्रित विभिन्न संघसंस्थाले हड्डी खिइनु, नशा नचल्नु र आँखा कमजोर हुनुको मुल कारण मोबाइल नै हो भन्ने प्रतिवेदन सार्वजनिक गर्नेछन् । विदेशी शहरमा मोबाइलमा खेल्न मिल्ने कतिपय गेममा एडिक्ट भएर कतिपय युवा युवतीले ज्यानसमेत गुमाएको समाचार हामीले सुनिसकेका छौं । विदेशमा घटेका घटना भएकाले हामीलाई उत्ति छुन्न् । कुनै दिन हाम्रै टोलछिमेकमा मोबाइल एडिक्सन कसैले आत्महत्या गरेको समाचार सार्वजनिक भएपछि हामी पक्कै गम्भीर होउँला ।

तीन वर्षकै उमेरदेखि मोबाइलमा रमाउने बालबालिका धेरै छन् । बा आमाको मोबाइल चलाएर हुर्केका बालबालिकाहरु ठूलो हुँदै गएपछि मोबाइलमा आफुलाई मन पर्ने गेमहरु आफै डाउनलोड गर्न सक्ने हुन्छन् । अलि ठूलो भएपछि उनीहरुलाई मात्रै मोबाइल दिए हुन्छ ।

मोबाइल खराब होइन

कुनै पनि प्रविधि आफैंमा खराब हुन्न । त्यसकारण मोबाइललाई खराब भन्न मिल्दैन । यही मोबाइलकै कारण हामी सात समुन्द्र पारी रहेका आफन्त, नातेदारसँग जोडिएका छौं । दुरदराजमा रहेका जोसुकैसँग नजिक हुने अवसर पाएका छौं । मोबाइलमा चलाइने इन्टरनेटको माध्यमले संसारभरका राम्रा नराम्रा खबर हातैमा हेर्न र सुन्न पाएका छौं ।

तर, मोबाइलमा चलाउन पाइने विभिन्न एप्लिकेशनले पछिल्ला पुस्तालाई नकारात्मक असर पनि पु-याइरहेको छ, यो गफ होइन विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरेको छ ।

गाउँमा मोबाइल बिनै रमाउन सकिन्छ

जाडो महिनामा विद्यालयले प्रायः दुई साताको छुट्टि दिन्छ । पछिल्लो समय यो छुट्टिको सदुपयोग गाउँमा हुर्केकाहरुले ‘अग्र्यानिक’ सदुपयोग गर्ने गरेका छन् । गाउँमा हुर्केकाहरु छुट्टिको समय बिहान घरको काम गर्छन् ।

बिहान भान्सामा आमालाई सघाउँछन् दिउसो बा आमासँगै तरकारी गोड्ने, तरकारीमा झार उखेल्ने वा अन्य सानातिना काम गर्छन् । गाई बाख्रा पाल्ने परिवारका सदस्यले गोठालो जाने वा डाले घाँस काट्न सघाउने गर्छन् । गाउँमा अन्य काम पनि थुप्रै हुन्छिन् । गाउँकाले पनि मोबाइल नचलाउने हैनन् तर, शहरमा बस्ने झैं पुरै समय भुल्दैनन् ।

बा आमा बिगार्छन् छोरा छोरी

शहरमा बस्नेहरु प्राय ब्यस्त हुन्छन् । कतिपय परिवारमा श्रीमान/श्रीमतिनै जागिरे हुन्छन् त कुनै परिवारमा एकजना सदस्य जागीर वा व्यवसायमा हुन्छन् । साना केटा केटीले पिरे वा अन्य केही माग गरे भने टिभीमा कार्टुन लगाईदिने वा मोबाइल चलाउन दिने चलन हुन्छ ।

तीन वर्षकै उमेरदेखि मोबाइलमा रमाउने बालबालिका धेरै छन् । बा आमाको मोबाइल चलाएर हुर्केका बालबालिकाहरु ठूलो हुँदै गएपछि मोबाइलमा आफुलाई मन पर्ने गेमहरु आफै डाउनलोड गर्न सक्ने हुन्छन् । अलि ठूलो भएपछि उनीहरुलाई मात्रै मोबाइल दिए हुन्छ । सहयोगीको जरुरी हुँदैन ।

कतिपय बाबु आमाले बच्चा ठूलो हुँदै गएपछि नियन्त्रण गर्न खोज्छन् । अनि बालबालिकाले सर्त राख्छन् ‘एकछिन मोबाइल चलाउन दिने भए यो काम गर्छु ।’ बाबु आमा सर्त मान्न राजी हुन्छन् ।

पढ्ने बानी घटाउदैछ

जब केटाकेटीहरु मोबाइलमा अभ्यस्त हुँदै जान्छन् । पढ्ने संस्कार ठ्याक्कै हराउँछ । स्कुलमा दिएको होमवर्क मात्रै पढाई हो भन्ने मान्यता छँदैछ । यदि कुनै दिन स्कुलले होमवर्क दिएन भने कितावको पाना पल्टाउदै नपल्टाउने बानी मोबाइलकै कारण हुन्छ । जब कुनै केटाकेटी मोबाइलको प्रभावमा पर्दै जान्छ । यदि मागेको बेला मोबाइल पाएन भने बाबु आमासँग रिसाउने अ-हाएको सामान्य काम पनि नगर्ने र केही काम अ¥हाउँदा यसकारण गर्दिन भनेर घुर्की लगाउने गर्छन् ।

किताब किन्दिनुस्

बजारमा बालबालिकाले पढ्न मिल्ने धेरै थरि किताब र पत्रपत्रिका पाइन्छ अचेल । बालकथा, बालकविता, निबन्ध संग्रह, कार्टुन चित्रलगायत धेरै शैक्षिक सामग्री पाइन्छ । धेरै पनि पर्दैन प्रति महिना २ सय रुपैंया मात्रै खर्च गर्ने हो भने बालबालिकालाई पुरै महिना पुस्तकको दुनियामै भुल्याउन सकिन्छ । यदि सानैदेखि बालबालिकालाई पुस्तकमा रमाउने बानी गराइयो भने ठूलो भएपछि आफैं पुस्तक पढ्न प्रेरित हुन्छन् ।

जब कोही मान्छे हरेक दिन केही घण्टा किताबमा रमाउछा उसले शतप्रतिशत राम्रै गर्ने ठोकुवा गर्न सकिन्न । यति पक्का हो किताबमा रमाउने मान्छेले समाजको अहित हुने काम गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *